Blogroll

Tuesday, September 10, 2013

चुपचाप कतै कहानी भएँ फत्तेमान

अस्पतालमै करिब पौने घण्टा कुराकानी गरेर बाहिरिँदै गर्दा मृत्यु उनको यति नजिक छ भन्ने कल्पनामा पनि थिएन। बरु सँधै रंगिन मुडमा कुरा गर्ने मान्छेले पहिलोपटक बारंबार आँसु बगाएको देख्दा हामी बिथोलिएका थियौं।
 
चार दिनअघि फत्तेमानको बारेमा जानकारी पाउनेबित्तिकै म र अर्का गायक एवं संगीतकार आभास चावहिलस्थित ओम अस्पताल पुगेका थियौं।
 
सुरुमा बिरामी भेट्ने पास नभएकाले माथि जानै दिइएन। अरु कुनै उपाय नदेखेपछि जे पर्लापर्ला भनेर बिरामीकै मोबाइलमा फोन गरियो। फोन फत्तेमानले नै उठाएर कुरा मात्र गरेनन्, एकजना महिलालाई पास दिएर पठाए पनि। क्याबिन नम्बर २५१।
 भित्र पस्नेबित्तिकै फत्तेमान दम्पत्ति भेटिए। झुलुक्क देख्नेबित्तिकै नरमाइलो लाग्यो। ओहो अनुहार कस्तरी सुन्निएको! के भयो यस्तो?
 फत्तेमान बेडबाट उठ्दै आमनेसामने हुने हिसाबले पलेँटी मारेर बसे। केही समययता छातीले दुःख दिन थालेको उनको कथन थियो।
 अस्ति नै पनि चारचोटि अस्पताल बसिसकेँ,' उनी भनिरहेका थिए, 'फेरि गाह्रो भएपछि आइतबार भर्ना भएको हुँ।'
 डाक्टरले के भनेको छ?
 हामीले यो प्रश्न गर्नेबित्तिकै उनले छाती खोलेर देखाए। त्यहाँ एउटा पाइप झुण्डिरहेको थियो। त्यो पाइप र छातीलाई जोड्ने हिसाबले सेतो टेपहरु टाँसिएको पनि देखिन्थे। पाइप जोडिएकै स्थानतिर देखाउँदै उनले छातीमा कुनै नशा अवरुद्ध भएको जानकारी दिए।
 त्यही नशा थुनिएर समस्या भएको रे,' उनी भनिरहेका थिए, 'अब खुलिसक्यो। ठीक हुन्छ भनेका छन्।'
 क्यान्सरको सिकार भइसकेको संकेत पाइसकेर पनि उनका सामुन्ने जिज्ञासु बनिरहन हामी बाध्य थियौं। किनभने कुरा गराइका क्रममा फत्तेमान र उनका श्रीमती दुवै त्यसबाट अनभिज्ञ देखिन्थे।
 अरु जाँच पनि चलिरहेको छ भनेर डाक्टर विश्वनाथ कोइरालाले सुनाइरहेका छन्,' उनले थपे, 'भरेसम्म रिपोर्ट दिन्छौं भनेका छन्।'
 कुराकानी गर्दागर्दै फत्तेमानले टाउको हल्लाए। अचानक असहज जस्तो देखियो। भयग्रस्त उनका देब्रे आँखामा तत्कालै आँसु रसायो। त्यो आँसु डिलमा थुप्रिरहेकै बेला दाहिने आँखा भरिएर तरर चुहिन थाल्यो।
 उमेर पुगिसकेको छ, मलाई मृत्युसँग डर छैन,' उनी आँसु कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि अलमलिएजस्तै देखिए र बोलिरहे, 'थला परेर लामो समय बाँच्नु नपरोस्, बस् त्यति इच्छा छ।'
 अचानक आइपरेको यो परिस्थिति सम्हाल्न हामीसँग अरु कुनै उपाय थिएन। कुरालाई सांगीतिक गतिविधितर्फ मोड्यौं। उनी पुराना दिन सम्झन थाले। फेरि कताबाट घुमेर केही वर्षअघि कार्यक्रम लिएर लण्डन गएका घटनाहरु सुनाउन थाले। कताकता उनी हराएको आभास मिल्न थाल्यो। एक किसिमले बहकिएका कुराहरु निस्कन थाले। उमेरले पाको भए पनि चेतनाका हिसाबले फत्तेमान समकालीनका तुलनामा टाठो देखिन्थे। त्यस दिन भने उनी लण्डनका घटनाहरु सम्झँदासम्झँदै अपत्यारिला कुराहरु गर्न थाले। यो एउटा संकेत थियो।
 
हामी स्तब्ध भयौं। त्यसैबेला फत्तेमान फेरि रुन थाले। 'मेरो एकजना आफन्त डेढ दुई वर्षसम्म थला परेर बाँचेको देख्या छु,' उनी आँसु पुछ्दै सुनाउन थाले, 'त्यस्तो कष्ट मलाइ पनि होला कि भनेर अत्यास लागिरहेको छ।'
 
हामीले उनलाई केही भएको छैन भन्दै ढाडस दिने कोशिस गर्‍यौं। 'स्वास्थ्य विज्ञानको धेरै विकास भइसकेको छ,' मैले उनलाई भने, 'पहिले कसकसले दुःख पाए भन्दै चिन्ता लिनु बेकार छ।' हामीले फेरि आगामी कार्यक्रम र योजनाहरुतर्फ उनलाई मोड्न खोज्यौं। उनी फेरि कताबाट के सम्झँदै रुन थाले।
 
त्यसपछि उनलाई केही नहुने र हामी फेरि भेट्न आउने बताउँदै बाहिर निस्क्यौं।
 
एकैपटक आइतबार उनलाई आइसियुमा भर्ना गरिएको जानकारी पाइयो। यसबीच किमोथेरापी दिन सुरु गरिएको रहेछ। दस दिनसम्म लगातार किमोथेरापी उनको शरीरले थेगिदिएको भए फत्तेमान केही समय अझै हामीमाझ रहने थिए। तर, उनको शरिरले थेग्न सकेन। अचेत अवस्थामा आइसियुमा लगिएपछि चिकित्सकले उनलाई किमो दिन बन्द गरेका रहेछन्। त्यसपछि चिकित्सकको भनाइ थियो, 'अब कुनै पनि बेला उहाँको अन्त्य हुनसक्छ।'
 फत्तेमानले मंगलवारको सूर्योदय पनि देख्न पाएनन्।
 उनले नपत्याउँदो तरिकाबाट श्रोता एवं आफन्तसँग विदा लिए। सबैलाई अचानक स्तब्ध पारेर गए। अर्को हिसाबले हेर्दा उनले आफ्नै छनौटको मृत्युवरण गरे। भेट्न आउनेसँग कुराकानी गरिरहेको क्षण र उनको मृत्युको दुरी एकाध दिनको मात्र बनिदियो। उनले नचाहेको परिस्थिति अर्थात् थला परेनन्। भजन गायनको आधारबाटै आफूलाई यति माथि उठाएका फत्तेमानको अन्तिम इच्छालाई सायद भगवानले पनि पूरा गरिदिए।
 चार दसकपहिले रेकर्ड भएका गीतहरु रेडियोमा बजिरहे पनि फत्तेमान एक हिसाबले निष्त्रि्कय भइसकेका थिए। सन् २००२ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित उनको एकल साँझले भने यी ओझेल पर्दै गएका लोकप्रिय गायकको पुनरागमन गराइदियो। स्वर्णिम सन्ध्याले नारायणगोपाललाई फेरि एकपटक चर्चामा ल्याएजस्तो।
 यसरी एकपटक महत्वपूर्ण मञ्च पाएका फत्तेमान लगातार ११ वर्षसम्मै सक्रिय रहे। उमेरले गलाउँदै लगे पनि आवाजमा उत्तिकै माधुर्य कायम राख्नसक्ने एकाध गायकमा पर्थे फत्तेमान। उनले गत वर्ष मात्र पलेँटी उत्सवमा झण्डै सात सय दर्शकका सामुन्ने गाएका थिए।
 गायनमात्र होइन, नयाँ सिर्जनाका हिसाबले पनि यो पुनरागमन फत्तेमानका निम्ति महत्वपूर्ण रह्यो। त्यसभन्दा पहिले यादव खरेल (यस्तो पनि हुँदो रैछ), तीर्थरत्न तुलाधर (मर्न बरु गाह्रो हुन्न), कालीप्रसाद रिजाल (वनै खायो डँडेलोले) र सहदेव राणा (सान्नानीको गालैमा) जस्ता गीतकार र नातिकाजी जस्ता संगीतकार (वनै खायो डढेेलोले नारायणगोपाल) को साथ पाएका फत्तेमानले दोस्रो 'इनिङ'मा भने एकदमै बेग्लै गीतकार र संगीतकारसँग सामिप्य पाए।
 दुवै ठूला हलको कन्सर्टदेखि लिएर पटकपटक पलेँटीमा उनी प्रस्तुत भए। त्यसैगरि नेपालयबाटै निस्केको 'गायक फत्तेमान ७० मा' उनको पछिल्लो अल्बम हो। यसमा उनले बानिरा गिरि, तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, मन्जुलजस्ता गीतकारहरु भेटेका थिए भने संगीतमा आभास।
 आभासबाहेक उनले पछिल्लोपटक कालीप्रसाद बाँस्कोटाको संगीतमा गाएका छन्। त्यसमा युवाकवि बुद्धिसागरको शब्द 'म चुपचाप कतै कहानी भएँ, धमिलो धमिलो बिहानी भएँ' लाइ उनले विशेष मनपराएका थिए। भर्खरै सुरु भएको हरिवंश आचार्यको टेलिभिजन कार्यक्रमका निम्ति यो गीत तयार पारिएको हो।
 यसरी फत्तेमानलाई दोस्रो 'इनिङ'ले स्वरमात्र होइन, संगत र सिर्जनाका हिसाबले पनि नयाँ पुस्तासँग जोडिदियो।मधेसतिर एउटा विशेष हेराइलाई 'कनखी नजर' भनिन्छ। एउटा आँखा थोरै सानो पारेर स्वादले हेर्नु। प्रायः रमाइलो मुडमा रहने फत्तेमान त्यसैगरी कनखी नजरले हेर्थे।
 एघार वर्षअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कन्सर्ट तयारीमै रहेका बेला पहिलोपटक उनलाई प्रत्यक्ष भेटेको थिएँ।
 बाल्यकालभरि प्रभाव पारेका रोमान्टिक गीतहरूको  गायकलाई त्यतिबेला मेरो मूल प्रश्न तन्नेरी वयका रोमान्सबारे थियो। म अनेक तवरबाट घुमाएर सोध्थेँ, उनी पन्छिरहन्थे। हुँदाहुँदा उनलाई दिक्क लागेछ । हाम्रा बेलामा त्यस्ता कुरै हुँदैन थिए भनेर बताउन मैले अब के गरुँ?' उनी भनिरहेका थिए, 'तपाईंलाई कसरी लगेर त्यो टाइम देखाउँ?'
 म एकछिनसम्मै शान्त बसेपछि खै किन हो गायक फत्तेमानले एउटा अनौठो मुस्कान निकालेर हेरे। पछिल्लो समयसम्म पनि चाहे बाटोमा होस् वा कार्यक्रममा, फत्तेमानले त्यहि हार्दिकता र मुस्कान मिसिएको आँखाले मात्र हेरे।
 एकदिन पशुपति दर्शन गर्न गएको बेला थियो। कुनाकाप्चा घुमिरहेकै बेला अचानक एउटा कुनातिर ठूलै सिलौटामा चन्दन घोटिरहेको मान्छे देखिए। एउटा सेण्डो गन्जी र सेतै धोती मात्र लगाएर खुब मच्चिरहेका। गायक फत्तेमानजस्ता पो देखिन्छन्!
 नजिकै गएर हेर्दा त नभन्दै फत्तेमान।
 के गर्नुभएको यो?
 म पशुपतिको भण्डारी खलक हुँ भन्ने थाहा छैन र?' उनले यो प्रतिप्रश्न गर्दै थपे, 'पुर्ख्यौली पेशा अब मेरो जिम्मामा आएको हो।'
 त्यो चकित खाएको घटनालाई मैले उतिबेला कार्यरत कान्तिपुरको कोसेलीमार्फत् सार्वजनिक गरिदिएँ–'फत्तेमान भए भण्डारी।' त्यसपछि उनी अझ नजिकिन थालेका थिए।
 पशुपतिको भजन मण्डलीहरुबाटै गायकीको विकास गरेका फत्तेमान प्रायः त्यसैको सेरोफेरोमा घुमिरहेका भेटिन्थे। देख्नेबित्तिकै सबैभन्दा पहिले उनी मुखबाट आवाज निकाल्थे, 'के छ?' त्यसपछि टाउको मास्तिर हल्लाउँदै आँखीभौं मात्रको भाषामा फेरि सोध्थे, 'के छ?'
 यसरी मुठ्ठी कसेर चुरोट च्याप्ने र कनखी नजरले मुस्काउने गायक सबैका मामलामा उत्तिकै उदार भने थिएनन्। मन नपरेको कुरा छ भने उनी ठाउँको ठाउँ हकार्न बेर लाउँथेनन्। एकपटक त्यस्तै भयो। नातिकाजीको अन्त्येष्टि चलिरहेको थियो। एकजना तन्नेरी फत्तेमानको छेउ आए र अभिवादन गरे। उनले पनि अभिवादन फर्काउँदै गहिरिएर हेरे। ती तन्नेरी आफुलाई गायकका रुपमा चिनाइरहेका थिए।
 तपाइँका गीतहरु मलाई असाध्यै मनपर्छन्,' उनी भनिरहेका थिए, 'त्यसमध्येको एकदुईवटा गीत म नयाँ किसिमले गाउन चाहन्छु। मिल्छ होला?'
 हेर्दाहेर्दै फत्तेमानको अनुहार निलो भयो।
 कसैले तपाईंको श्रीमती मलाई असाध्यै मनपर्छ, म नयाँ किसिमले उसलाई माया गर्छु भन्यो भने तपाईं दिनुहुन्छ?' उनी आक्रोशका साथ बोलिरहेका थिए, 'हो, त्यसैगरी म पनि कसैलाई मेरो गीत दिन्न। पोहोर सालकै कुरा हो, उनी धेरै दिनपछि कुनै कार्यक्रममा देखिएका थिए। जिज्ञासा राख्दा उनले आफू सडक दुर्घटनामा परेर केही दिन थलिएको बताए।
 ओहो! कहाँ? कसरी?
 सडकमा हिँड्दै गर्दा एउटा मोटरसाइकल कतातिरबाट आयो,' उनले थपे, 'म सम्हालिन पनि पाइँन, झ्याम्मै हिर्काइदियो।'
 अनि?
 मेरो पालो मैले पनि बजाइ दिएँ,' उनी मुड्की देखाउँदै भनिरहेका थिए, 'सडकमा हिँड्नेलाई मान्छे नै गन्दैनन्।'
 यस्ता पनि थिए फत्तेमान।
 नातिकाजीको त्यो अन्त्येष्टिकै बेलामा उनले अर्को याद रहने कुरा पनि गरेका थिए।
 दागबत्ती दिइसकेपछि उनी अचानक भन्न थाले, 'यी यही हो, त्यो एउटा गीत छ नि...एक दिन बिक जाएगा माटीके मोल...।'
 अहिले आएर समय ठीक त्यही घडीमा उभिएको सम्झना भइरहेको छ। आर्यघाटको त्यही चक्रमा, जहाँ गायक फत्तेमान पनि त्यही शब्दमा रुपान्तरित भइरहेका छन्–
 दूजेके होंठोको देकर अपनी गीत,
 कोहि निशानी छोड फिर दुनियाँसे डोल'
 फत्तेमान रहेनन्। तर, कम्पनमा बज्ने त्यो मिठो अनि दुर्लभ स्वर जसलाई आफ्नै कुनै गीतका निम्ति नारायणगोपालले समेत स्वयंभन्दा योग्य ठहर गरेका थिए, बाँचिरहनेछ।

No comments:

Post a Comment