Blogroll

Friday, December 6, 2013

कथा- तीन दिन

बिहानै उठ्यो र धुमधुमती, हिजोको दिन सम्झन लाग्यो । हिजो बेलुका एउटा ऊ जस्तै एउटा मान्छेले सुटकेश बेच्यो, खान नपाएर । उसलाई लाग्यो, ‘ऊ’ र ‘ऊ’मा त्यति नै फरक थियो । उससँग सुटकेश थियो, ऊसँग छैन । अनि, उसैले एउटा चुरोट दिएथ्यो । त्यो खाइसकेपछि फेरि ऊ चुरोटका निम्ति छट्पटाउन थाल्यो र सारा कोठामा एउटा सानो ठुटोसम्म नपाएर अलतालिएपछि पंखा चलाएर त्यसै सुत्यो । कतिबेला बिहान होला भन्ने ध्याउन्नभन्दा बढी कोठाको आफूभाथि चलिरहेको पंखा आएर बज्रोस् र अस्पतालमा जान पाइयोस् भन्ने ध्याउन्न रहृयो, उसमा ।
kishore-nepalअस्पताल त ऊ सधैं जान्थ्यो आजकल । उसको आफ्नै एउटा बिरामी त्यहाँ रहेको छ, जसको बारेमा ऊ जहिले पनि जहाँ पनि पूर्वाग्रही हुनसक्छ । बिरामीले कमसेकम कुनै राम्री नर्सलाई ‘प्रेम’ गर्ला भन्ने त छँदैछैन । अस्पतालको सम्झनामा नै कुन्नि कतिबेला ऊ निदायो । बिहानै उठ्यो, एउटा साथीसँग धेरै अनुनय विनयपछि लिएको रुमाल र साबुन बोकेर बाथरुमतिर लाग्यो । हडबडमा ‘अर्धस्नान’ गर्‍यो । सम्झेपछि लप|mक्क भिजेको पाइण्टलाई कोठामा ल्याएर टाँग्यो, एकाध घण्टापछि पंखाको हावाले पाइण्ट सुक्नेछ । र्फकदा ऊ रुमाल बेरेर आएको थियो, बाथरुममा पसेर ढोका ‘लक’ गर्न बिर्सिएछ । एकै छिनपछि पसेकी बंगाल्नी केटी तर्सेर भागेपछि मात्र उसलाई होश आयो- ऊ नाङ्गै छ ।
‘नित्यक्रिया’(?) (प्रश्नचिन्हको आवश्यकता यस निम्ति कि उसका यी ‘क्रिया’ कहिल्यै ‘साविक’ भएनन्) सकेपछि उ अस्पतालतिर लाग्यो । किन ? ‘मोटिभ’का बारे ऊ आफैँलाई थाह छैन । उसको बिरामी बडो ‘स्मार्ट’ भएर बसेको थियो । उसले धेरै गफ गर्‍यो र सन्तुष्टिमा लामो सर्को चुरोट तान्यो । कसैलाई थाहा कि उसले हिजोदेखि चुरोट खाएको हैन ? उसलाई आफ्नो यस्तो दयनीय अवस्थामा पनि चुरोट छोड्न नसक्नुले दिक्क पनि लाग्यो ।
उसको बिरामीले, शायद उसको स्थितिको अड्कल लगाएर उसलाई केही पैसा दियो । ‘भात’ को समस्या एक छाकको लागि हटेकोमा निकै दङ्ग पर्‍यो र केही छिनपछि नै त्यहाँबाट हिँड्यो । उसलाई त्यतिञ्जेल उसको र बिरामीको सम्बन्ध त्यतिकै मात्र जस्तो लाग्यो । तर पछि यस्तो कुरालाई दिमागबाट पन्छाएर भात खान गयो । भात नपुग्दै ऊ उठ्यो र पैसा तिरेर हिँड्यो । धेरै भात खाँदा फेरि चुरोट खान नपाउने डरले ऊ पहिले नै अत्तालिएको थियो ।
हिजो उसले एउटा साथीको नाममा भात खाएथ्यो, त्यतिञ्जेल होटेलवालाले ऊसँग गरेको व्यवहार सम्झेर अहिले पनि ऊ हीनतर हुँदैगयो । कुनै दुर्घटनामा पर्न मन लाग्यो । यसभन्दा अगाडि पक्डाउ खाएर जेल जाने कुरा उसले यस निम्ति त्याग्यो कि उसलाई अहिले कसैले पक्डन्न । सडकको बीचबाट हिँड्दै ऊ आफ्नो ‘लज’ तिर लाग्यो, आइरहेको ट्रक पनि देखेको नदेख्यै गर्‍यो, हर्न पनि नसुने झैं गर्‍यो । केवल हिँडिरहृयो । तर उसलाई कतिबेला ट्राफिक पुलिसले उचालेर फूटपाथमा थचारिदियो, पत्तै भएन । उसले विकर्षले पुलिसतिर हेरेर थुक्यो र भीडमा आफू जसरी आएथ्यो, त्यसैगरी- मिल्यो ।
आफूलाई देखेर उसलाई अनौठो अनुभव भयो । ऊ आफू होटेलको ‘बेयरा’ भन्दा धेरै मैलो भइसकेको रे’छ । यो थाहा पाउनेबित्तिकै पाइण्ट धोयो र सुकायो । आधा सुकेपछि त्यही पाइण्ट लगाएर ऊ हिजो मात्र भेटेको एउटा साथीसँग अस्पताल गयो । निश्चय थियो, ऊ त्यहाँ भर्ना नहुने । अस्पताल जान लाग्दा, भएको पाइण्ट पनि ‘हिप’ मै च्यातिएपछि हत्तपत्त सानो रुमालले आफूलाई पागल हुनबाट बचाएर बिहान मात्र साथीसँग भएको ‘डाइलग’ सम्झ्यो ः
- ‘पाइण्ट अब कति दिन खप्ला ?’
- ‘दश दिन त मामुली पनि ।’
दश दिन खप्ने भनेर साथीले दिएको अन्दाज यसरी गलत भएको देखेर उसले भगवान्लाई सम्झ्यो । अस्पताल जानेबित्तिकै उसले भेट्ने मानिसलाई यही कुरा सुनायो । रोगीले ‘रियलाइज’ गरेको उसले थाहा पाए पनि- त्यहाँ रोगीसँगै बसेका निरोगीहरुले थाह पाए नपाएको उसले वास्ता नै गरिदिएन ।
रोगीले एउटा नीरोगीलाई भन्यो, ‘ए, यिनलाई एउटा पाइजामा किनदेऊ न ।’ नीरोगीले मञ्जुर गरेपछि ऊ आश्वस्त भयो र पानी परेको आकाशलाई हेर्दै भन्यो- ‘कस्तो कुकुरको मूतजस्तो पानी !’
लगत्तैपछि, तिनीहरुसँगै ऊ निक्ल्यो । यति बेला घाम चक्र्यो । बजारमा आएपछि बडो अनाकानीसाथ त्यो नीरोगीले उसलाई एउटा पाइजामाको कपडा किनिदियो । ‘हिसीःमरु’ दमाईकहाँ त्यसलाई सिउन दिँदा उसले भन्यो- ‘अली गढी’ । ‘पाइजामा’ झन्झटबाट मुक्त भएपछि उसले त्यसै नीरोगीसँग दुईजनालाई खाने पैसा माग्यो । एकैछिन त्यो नीरोगी एकातिर लाग्यो र पछि आएर पाँच रुपियाँ दिदै भन्यो- ‘उधारो ल्याएको, ल ।’
उसले त्यस नीरोगीसँग अघि मात्र निकै पैसा देखेकोले भर्खर उसले बोलेको झुठले ऊ तात्यो, मनमनै । खुला तात्ने उसको हिम्मतलाई गए दिन बेलुका नै एउटा होटेलवालाले ‘इन्सल्ट’ गरेर लिइसकेको थियो । हो नीरोगी गएपछि भने उसले त्यसलाई आमाचकारी गाली गर्‍यो । आजदेखि उसले आफूभित्रका ‘अहं’हरुलाई ‘नहुनु’ र ‘हिनता’ को बीचमा दबाइदिएको थियो ।
उसले आफूलाई हेर्‍यो, कुनै मेलामा जूवा खेल्दा हारेकोमा पनि उसलाई त्यति आश्चर्य र बिस्मात लागेको थिएन, भात त ढाँटी, छली जे गरी पनि खाएकै थियो र होटेलमा अनावश्यक ‘पोज’ देखाई मान पनि राखेकै थियो ।
फेरि पनि ऊ आफूलाई यति दुब्लो ठान्न सक्दैनथ्यो । उसले सोच्यो कसैले उसको आँखाको मधु, गालाको लाली र त्यस्तै अरु चीजलाई चोरेर लगेछ । ऊ ऐना धेरैजस्तो हेर्दैन । अनि हेरेर रिसायो, जुन रिसले एउटा प्लेट फोडेर होटेलको उधारो खाताको ब्यालेन्स बढाउनुभन्दा केही गर्न नसकेपछि ऊ एकपल्ट चित्ता खायो ।
यसपछि उसले ‘मनचिन्ते झोली हुनु’ जस्तै महान् विचार सोच्यो । सँगैको साथीलाई जोड गरेर कचौडी र जिलेबी ख्वाउन समर्थ गरायो । त्यसपछि कतै हिँड्यो । हिँड्दा उसको खुट्टा गले पनि, हिँड्न नसकेर सडकमा लमतन्न परे पनि, कुनै रिक्साले उसलाई ‘मुफ्ती’ मा चढाउने छैन भन्ने कुरा उसले राम्ररी मनन गरेको हुँदा ऊ हिंडिरहृयो । बाटामा खसेको एउटा ‘थ्री- फाइभ’ को लामो ठुटोलाई उसले चाहेर पनि टिपेन र त्यसै गयो । धेरै पर पुगेर लागेको चुरोटको तलतलले उसलाई त्यो ठुटो नटिपेकोमा पश्चात्ताप भयो ।
निकै परको भट्टीनिर एउटी उताउली ठिटी देखेर उसले निकै पोजसँग सुसेल्यो । आफूले जानेको कुनै ‘अदा’ को ‘बटारिया’ नक्कल पनि गर्‍यो । पैसा नभएजस्तो चाल पाएर हो क्यारे, ठिटी पुट्ठा हल्लाउँदै हिँडेपछि ऊ पनि ‘लोफर’ जस्तै हिँड्यो । यसबेला उसको अनुहार सेतो, आँखा गडेको, लामो र बाँझो सडकजस्तै थियो ।
(नेपालको पहिलो कथासंग्रह ‘अर्कै प्रस्तर’बाट)

No comments:

Post a Comment