Blogroll

Monday, October 7, 2013

कतारमा नेपाल, लुमा, झुमा र शुक्रबार

हाम्रो मुख्य समस्या गरिवी हो भने गरिवीबाट उव्जीएका समस्याहरु मध्ये बैदेशिक रोजगार पनि एक हो । बैदेशिक रोजगार गरिवीबाट च्यापिएका नेपाली यूवाहरुको लागी बाध्यता हो भने विभिन्न समयमा उत्पादित नेपाली श्रम बजारमा अवसरको खोजी गर्दै भौतारिरहेका नेपालीहरुको लागी अवसरको खानी पनि हो आफनो व्यापार व्यावसायलाई पनि विस्तार
गर्नको लागी तेस्रो मुलक छोडने प्रवृतिमा बृद्धि भइरहेको छ ।
यहाँ नेर बैदेशिक रोजगार बाध्यता मात्र नभई अवसर र आफनो व्यापार व्यावसायलाई विस्तार गर्ने थलो पनि भएको छ चाहे बाध्यताले निम्ताएको बैदेशिक रोजागारी होस् चाहे अवसरको खोजी होस् चाहे व्यापार व्यावसायको लागी आफनो देशबाट कतार प्रवेश गरेका आम नेपालीहरुको एउटै पिडा प्रवासको बसाई हो । आफनो घर सम्पत्तिलाई समेत बन्धकी राखेर बाध्यताले बैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकहरुका दिनहरु कम्ति पिडादायक छैनन् विदेशमा । 
आफ्नो घर परिवार र देशलाई चटक्कै छोडेर आएका ती नेपालीहरुले विदेशी भूमिमा आफनो पसिना वगाउदा बगाउदै पनि आफुले चाहेको र सोचे अनुरुपको प्रतिफल पाउन सकेका छैन्न कसैको काम फरक पर्नु कसैको कम्पनि फरक पर्नु, कसैको तलव फरक पर्नु, कसैको सडक दुर्घटनामा परेर अगंभग एव मृत्युहूनु, कसैको कार्यस्थल एवं बास्स्थानमै अचानक मृत्युहुनु त कतै कतै कम्पनी मालिक एवं घर मालिकबाट नै यातना दिनु र ४५ डिग्रीको चर्को घाममा कतारका रोडहरुमा रोड निर्माणमा जुटेका कलिला कलकलाउदा उमेरका नेपाली यूवाहरु मासिक न्युन तलवमानमा काम गरिरहेका प्रशस्त पाइन्छन यावत समस्याहरु अगाल्न नेपालीहरु बाध्य छन् । नेपालीहरुको चाप रहेको कतारमा करिव ५ लाखको हाराहारीमा नेपालीहरु रहेका छन् भने नेपाल लगायत विश्वभरिका मानिसहरुको लागी कतार आर्कषणको केन्द्र बनेको छ । कतार आर्थिक सम्पन्नत्ताको दृष्टिकोणमा विश्वको नम्वर एकमा पनि परेको छ । यहाँ प्रशस्त मात्रामा खनिज प्रज्वलनशिल पदार्थको भण्डार रहेको छ र त्यसको अधिकतम उपयोगले गर्दा यसलाई आर्थिक सम्पन्नत्ताको स्थितिमा पुराउन सफल भएको छ । आज भन्दा करिव १० वर्ष पहिला कतार प्रवेश गरेका एक नेपालीले आफनो अनुभव बताउदै कतारमा आफु आउदाको अवस्था र अहिलेको अवस्थामा अतुलनिय परिवर्तन भएको बताउछन् । अर्कोतर्फ तिब्ररुपमा भइरहेको नेपालीहरुको अस्वभाविक निधन जस्लाई ह्दयघातको पनि संज्ञा दिइन्छ यो पनि एक अज्ञात समस्या बनेको छ सुन्दर सपना बोकेर खाडीको विभिन्न मुलुकमा गएका नेपालीहरु सुतेको अवस्थामा मै मृत्युवरण गरिरहेका घटनाहरु बढ्दो छन् । दैनिकरुपमा काठको बन्द बाकसमा मृत्युभएका नेपालीहरुको शव नेपाल आउने क्रम बृद्दि भएको छ यो विषयमा कसै र कतैबाट ठोस अनुसन्धान र रोकथाम एवं चेतनात्मक कार्यक्रम भएको पाइदैन ।
सुन्दर सपनाहरु बोकेर कतार पसेका नेपालीहरुले यहाँको विभिन्न समस्या एवं कठिनाईका विच पनि केही नेपालीहरुले सफलता पनि प्राप्त गरेका छन् । ती मध्ये कतिपय नेपालीहरुले आफनै व्यावसायको रुपमा विभिन्न खालका कम्पनीहरु सन्चालन गरि सयौ जनालाई रोजगारी पनि दिएका छन् । खास गरि खाडी देशमा मध्ययमस्तरको जनशक्तिमात्र होइन यहाँ उच्च किसिमको नेपाली जनशक्ति पनि पाइन्छ । इन्जीनियर, चिकित्सक एवं स्थास्थ्यकर्मीहरु, कुशल व्यवस्थापक, एकाउन्टेन्ट, बैकिंग तथा होटल लगायतमा उच्चस्तरका जनशक्तिहरु पनि यहाँ उच्च तलवमानमा कार्यरत छन् । आफनै व्यापार व्यावसाय गरिरहेको एउटा जमात, अर्को उच्चस्तरमा कार्यरत जमात छ भने तेस्रो जमात भनेको निम्न तलवमानमा अधिक मेहनत र जोखिमयुक्त कार्य गरिरहेका नेपालीहरुलाई लिन सकिन्छ ४५ डिग्रीको चर्को घाममा सडक निर्माण देखि विभिन्न घराना सोपिगंमालहरु एवं यहाँका दुर्गम ठाँउहरुमा उटँ चराउने र कृषि कार्यमा पनि व्यस्त छन् कतिपय नेपालीहरु, यी नेपालीहरुको मेहनतको उद्देश्य भनेको आफनो परिवार र सुन्दर भविष्य निमार्णको लागी हो । यसरी विभिन्न जोखिमपूर्ण र मेहनतपूर्वक गरेको कामबाट प्राप्त भएको तलवबाट पनि उचित बचत गरेर कतिपयले उन्नत्ति गरेका छन् भने अधिकतम निम्नस्तरको कार्य गर्ने नेपालीहरुले क्षणिक आनन्दको लागी पिउनलाई बन्चित गरिएको मानव शरिरको लागी अत्यन्तै घातक पेय मादक पदार्थ प्रयोग गर्ने गरेका छन् जनु पदार्थ पिउनका लागी नभई घरमा सफाईको लागी प्रयोग गरिने एक प्रकारको रसायनिक मादक पदार्थ हो जसको सेवनपछि नेपालमा स्थानीय भाषामा बोलिने रक्सी वा अन्य मातलाग्ने तत्वले जस्तो नशा दिन्छ त्यो जस्तै नशा यस्बाट पनि प्राप्त हुन्छ । फरक यति हो यो मानिसको लागी नभई घरका शौचालयहरु तथा अन्य सफाईको कार्यमा प्रयोग गर्नको लागी बनाइएको रसायनिक तत्वहो । जसको सेवनले मानिसको शरिरलाई अन्तन्तै बेफाइदा गर्छ । यस्ता मादक पदार्थहरुको रुपमा यहाँ लुमा, खजुरबोटटे, श्रीलंके आदि आदि नामहरु प्रख्यात छन् जो यहाँका कतिपय मार्केट तथा पसलहरुमा पाइन्छन । यहाँका कतिपय नेपालीहरुले यसलाई खाने चिज होइन भन्ने पनि राम्ररी चिन्दछन फेरि पनि उनीहरुले क्षणिक आनन्द र विलासिताका लागी अनि सस्तो पनि भएकाले यस्ता मादक पदार्थहरु प्रयोग गर्दै आएका छन् । लुमा तथा अन्य मादक पदार्थहरुको व्यापार केहि नेपालीहरुले पनि लुकिछिपी गर्दै आएका छन् आफु बस्ने कोठामा (रुम)मा लुकाएर राख्ने र महंगो भाउमा बेच्ने पनि गरेको पाइएको छ जुन अत्यन्तै यहाँको कानुन विपरितको क्रियाकलाप हो । एकातिर लुमाको प्रयोग बढ्दो छ भने सूर्तीजन्य पदार्थको व्यापार पनि उत्तिकैरुपमा बढ्दो छ नेपालमा पाउने पुकार तथा अन्य गुटखा जन्य पदार्थहरु र सुर्तीको रुपमा प्रयोेग गर्ने अन्य चिजहरु पनि यहाँ खुलेआम बेचविखन गरिरहेको पाइन्छ प्राय शुक्रबारको जमघटमा वेचविखन गरिने यी विभिन्न भिडियोका सिडी र सुर्तीजन्य पदार्थ, मादक पदार्थ, तथा अन्य जमघटलाई यहाँको प्रशासनले बन्देज गरेको छ र यहाँको स्थानिय पुलिसले शुक्रबारको उक्त जमघटमा यी चिजहरुको साथमा हिरासतमा लिदाँ कतिपय नेपालहरुले जेलको हावा समेत खाइरहेकाछन् । शुक्रबारको दिन उक्त पार्कहरुमा नेपाली समुदायका विभिन्न संघसंगठनहरुका भेला तथा बैठकहरु बसेको पनि पाइन्छ कतारमा संघसस्था तथा यूनियनहरु खोल्न प्रतिवन्ध छ फेरि पनि यहाँ १०० भन्दा धेरै विभिन्न उद्देश्यले स्थापना गरिएका नेपाली संघसस्थाहरु सक्रिय छन् ।
गैरआवासिय नेपालीहरुको छाता संगठन भनिने गैरआवासिय नेपाली संघ कतार च्याप्टरको भर्खरै सम्पन्न पाचौ महाधिवेशनले पनि व्यापक चहलपहल पायो । जस्को नेतृत्व प्राप्तीको लागी होडबाजी नै भएको थियो एकपदको लागी चार चार जना सम्मको दावी पर्न गएपछि अन्तिम सहमति पश्चात निर्वाचनबाट नेपाली मुश्लिम समुदायबाट नेपाली समाजका अगुवा एवं समाजसेवी मक्सुद आलम गैरआवासिय नेपाली संघ कतारको अध्यक्षमा निर्वाचित भएको हुन् । करिव १६ सय भन्दा धेरै सदस्य भएको एनसिसि कतार तथा अन्य अवैधानिक संघसस्थाहरुका निर्वाचन र क्रियाकलाप पनि कतारको कानुनी प्रावधानका विचमा चुनौतीपूर्ण कार्य हो ।
खास गरी कतारमा नेपालमा शनिवार विदा भए जस्तै शुक्रबार विदा हुने गर्दछ्  तर कतिपय कम्पनीहरुमा विहिवारबाट नै विदा हुने गर्दछ । विहिवारको रातलाई यहाँ झुमा अथवा झुमारात भन्ने गरिन्छ भने यो दिन पनि साथीभाईहरु एक अर्काको क्याम्प वा कोठामा गई बस्ने खाने गर्दछन भने अर्को दिन शुक्रबार खास गरि कतारको राजधानी दोहाका केहि पार्कहरु मध्ये  तलवारगेट पार्कमा नेपालीहरुको जमावडा हुने गर्दछ । राजधानी देखि टाढा टाढाबाट पनि सवारीसाधनद्धारा नेपालीहरु उक्तपार्कमा जम्मा हुन्छन् उनीहरु त्यहा जम्मा हुनुका केहि कारणहरु छन् जस्म मध्ये भेटघाट मुख्य कारण हो भने थुप्रो मानिसहरुको विचमा केहि नेपालीहरुले आफनो आफनो धन्दा पनि गरिरहेका देखिन्छन् जुन देख्दा नेपालमा कुनै मेलामा भएको भान हुन्छ, हरियो चउरमा बसेका नेपालीहरु हुन्छन कतै एउटा समुहले सिडि बेचिरहेको हुन्छ भने कतिले चटपटे जस्ता खाद्यबस्तु पनि बेचेको देख्न सकिन्छ, कतै कुनै समुह वा संगठनको बैठक पनि बसेको देख्न सकिन्छ त कतै  पानी र जुस हातमा लिएर पसिना पुछदै बेच्न हिडेका देखिन्छन् कतारबाट प्रकाशित हुने कान्तिपुर तथा राजधानी साप्ताहिक पत्रिकाहरु पनि कतिले हातमा लिएर बेच्न हिडेको देखिन्छ । ४०, ४५ डिगी्रको घाममा पनि ती नेपालीहरु घाम नभनी उक्त पार्कहरुमा जम्मा भएको देख्न सकिन्छ यस्ता पार्कहरुमा खासगरि तलवारगेट, वरवा बैकको पार्क तथा नेशनल क्षेत्र, जैदापार्क, मुन्तजा पार्कमा ज्यादा मात्रामा पाइन्छ भने औधोगिक क्षेत्र सनैयाका केहि पार्कहरुमा पनि यस्ता क्रियाकलाप देख्न सकिन्छ ।
कतारलाई राजनैतिक, सामाजिक, जातिय एवं समग्र हिसावले मूल्यांकन गर्दा करिव ५ लाख नेपालीहरुको जनघनत्व रहेको कतारलाई मिनि नेपाल भनेर अंकित गरिन्छ नेकपा एमाले भातृसंगठन नेपाल लोकतान्त्रीक मन्च कतार, एनेकपा माओबादीको भातृसंगठन नेपाल जनप्रगतिशिल मंच, नेपाली काग्रेसको भातृ संगठन जनसम्र्पक समिति कतार लगायत अन्य राजनैतिक, जातिय, धार्मिक समुहहरुका भातृसंगठनहरु पनि सक्रिय छन् भने यहाँको स्थानिय सरकारसँग प्रत्यक्ष सम्र्पकमा रहि कतारको सामाजिक क्रियाकलापमा सहभागीता जनाउने श्रेय नेपाली समुदायका अगुवा चितवन निवासी सागर नेपालज्यूलाई लिन सकिन्छ उहाँले कतारले आयोजना गर्ने हरेक प्रकारका सामुदायिक क्रियाकलापमा नेपाली समुदायलाई सक्रिय सहभागिता गराउन भुमिका खेलिरहनुभएको छ ।
यहाँका नेपालीहरुको प्रतिनिधित्व एवं अभिभावकको रुपमा नेपाली दुतावासले समस्याहरुलाई सम्वोधन गर्ने एवं नेपाली समुदायमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।
यसरी सक्षेपमा भन्नेहो भने कतार अवसरको खानी हो यहाँ आउने नेपालीहरुको सख्यात्मक हिसावले बृद्धि भएता पनि गुणात्मक हिसावले बृद्धि भएको छैन् जस्ले गर्दा यहाँ सफल नेपालीहरु भन्दा समस्या र पिडामा परेका नेपालीहरु धेरै छन् । यी सवै समस्याहरु एवं भविष्यमा बैदेशिक रोजगारीलाई प्रभावकारी बनाउनका लागी दुतावास एवं सघसस्थाहरु विचमा समन्वय, जनचेतना, समस्याहरुको अध्ययन गरि समाधानको लागी स्थानिय सरकार एवं नेपाल सरकारसगँ पहल गरिनु जरुरी छ ।
(लेखक, अर्घाखाँची घर भई हाल कतारमा कार्यरत तथा अर्घाखाँची सेवा समाज कतार र मातृभूमिका लागी यूवा अभियान कतारका प्रथम उपाध्यक्ष हुनुन्छ ।)


No comments:

Post a Comment