Blogroll

Monday, January 6, 2014

पुलिसलाई ढाँट्ने दिन गए

 नेपाल प्रहरीले आउदो हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउन पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्ने भएको छ ।
सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान पद्धतिलाई बैज्ञानिक बनाउन पोलिग्राफ मेसिन प्रयोग गर्न लागेको जानकारी दिनुभयो ।

‘अपराध अनुसन्धानलाई बैज्ञानिक र प्रमाणमुखी बनाउने हाम्रो प्रयास जारी रहनेछ । भर्खरैमात्र बैज्ञानिक साधन प्रयोगमा महत्वपूर्ण फड्को मारेका छौं । त्यो भनेको झुठो बोलेको पत्ता लगाउने यन्त्रका रुपमा पोलिग्राफको प्रयोग’ उहाँले भन्नुभयो ‘यसलाई सञ्चालन गर्न हामीले तालिम सञ्चालन गरिसकेका छौं । आगामी हप्तादेखि विभिन्न प्रहरी कार्यालयहरुमा अभियुक्तहरुले पोलिग्राफिक परीक्षणबाट गुज्रनुपर्ने अबस्था सिर्जना गरेका छौं ।’
यो प्रबिधिलाई पहिलो चरणमा केन्द्र्रीय अनुसन्धान ब्युरो सीआइबी र अपराध अनुसन्धान महाशाखामा प्रयोग गर्ने र आवश्यकता हेरेर देशका अरु ठाउँमा पनि लैजान सकिने प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो । अमेरिकी सरकारले नेपाललाई १० वटा पोलिग्राफ मेसिन उपलब्ध गराएको थियो । यसलाई सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी अधिकृतहरुलाई तालिम दिइसकेको प्रवक्ता केसीले जानकारी दिनुभयो । युरोप तथा अमेरीकी मुलुकबाट सुरुवात भएको पोलिग्राफ मेसिनको माध्यमबाट अनुसन्धान गर्ने पद्धति सुरुवात गर्ने नेपाल दक्षिण एसियामा सबैभन्दा पछिल्लो मुलुक हो । दक्षिण एसियाका अरु सबै देशमा पोलिग्राफ मेसिनबाट अनुसन्धान गर्ने पद्धति सञ्चालन भैसकेको छ ।  के हो पोलिग्राफ ?

पोलिग्राफ मेसिनको उद्देश्य व्यक्तिले कुनै प्रश्नको जवाफ दिँदा सही वा झुटो बोलेको छ भन्ने पत्ता लगाउनु हो । खासगरी प्रहरीले अनुसन्धानका क्रममा अभियुक्तले झुटो नबोलोस् भन्नका लागि यो यन्त्र प्रयोग गर्ने चलन छ ।प्रहरीले अनुसन्धान गरिरहेको कुनै व्यक्तिलाई पोलिग्राफ परीक्षणका क्रममा ४ देखि ६ वटा सेन्सर तारमा जोड्छ । पोलिग्राफले त्यहि सेन्सरको माध्यमबाट बिशेष प्रकारको कागज र कम्प्युटरमा संकेतहरु रेकर्ड गर्छ । व्यक्तिको श्वास, नाडीको चाल, रक्तचाप र पसिनाका आधारमा संकेतहरु रेकर्ड हुन्छन् । यो मेसिनले कहिलेकाही हात र खुट्टाको चाल पनि रेकर्ड गर्छ ।
पोलिग्राफ परीक्षण सुरु गरेपछि प्रश्न सोध्ने व्यक्तिले सुरुमा सामान्य अबस्थामा ल्याउनका लागि केही सामान्य खालका प्रश्नहरु सोध्नेछन् । यसपछि मात्र अनुसन्धानका लागि आबश्यक प्रश्नहरु सोधिन्छ ।प्रश्न सोध्न र उत्तर आउन थालेपछि व्यक्तिका गतिविधि संकेतका रुपमा रेकर्ड हुन थाल्छन् । सामान्यतया उत्तर दिने व्यक्तिले झुट बोल्दैछ भने मुटुको धड्कन बढ्ने, रक्तचाप उच्च हुने र पसिना आउने संकेत देखापर्दछ ।तर बिचार गर्नुपर्ने कुरा के हो भने राम्रो प्रशिक्षण लिएका अनुसन्धानकर्ताले मात्र झुट बोलेको संकेतलाई सही ठह¥याउन सक्छन् । किनकी कहिलेकाँही धेरै चलाख अभियुक्तले झुट बोल्दा पनि मेसिनले त्यसलाई साँचो देखाउने सम्भावना हुन्छ ।पोलिग्राफ आफैमा साँचो बोल्न लगाउन सक्ने प्रविधि हैन । कहिलेकाही भने यसले प्रहरीलाई मुर्ख बनाउन पनि सक्छ । प्रहरी प्रवक्ता गणेश केसी यो मेसिनको प्रभावकारिता ८० देखि ९० प्रतिशत हुने बताउनुहुन्छ ।

No comments:

Post a Comment