मन भाँचिएपछि मदिरा पिउँछ मान्छे । अर्थात मनको हाँगो भाँचिएपछि मदिराको लहरामा अल्झिन्छ मान्छे । त्यसैले पनि मन, मदिरा र मान्छे लगभग एउटै कित्ताका अनुभवी तत्वहरु हुन् । कहिलेकाहीँ के सुर चलेर हो म सोँचिरहेको हुन्छु, यो मन किन वहकिन्छ होला भनेर । अनि फेरी आफै जवाफ भेट्टाएझैँ गर्छु—मनको विशेषता नै वहकिनु त हो नी । तत्क्षण चित्त बुझाएर सोँचमग्नताको क्रमभङ्ग ग...रिदिन्छु अनि । नारायण गोपालले गाउनुभएको एउटा गीत कहिलेकाहीँ एक्लै—एक्लै गुन्गुनाउँछु म ।
पिउँदा पिउँदै जीन्दगी यो रित्याउन चाहन्छु म ।
सायद व्यथाहरु सिध्याउने अभिलाषाले पनि पिउँछन् होला कोही । अनि कोही यादहरु मेटाउने उत्कट चाहनाले पनि । तर मलाई थाहा छ , यी दुवैथरि मान्छेहरु आफ्ना अभिलाषमा सफल भने हुँदैनन् । न पिएर व्यथाहरु सिधिन्छन्, न त यादहरु नै मेटिन्छन् । फगत पिउनका लागि पिउँछन् । अनगिन्ती वाहनाहरुको वैशाखी टेकेर तय गरिएको भट्टि यात्रा सोँचमुक्त त होला तर दोषमुक्त हुन भने कदापी सक्दैन । म आफैले केही महिना अघि लेखेको थिएँ —
शुरुमा त थोरै चाख्नका लागि पिउँछु ।
जोशिन्छु त्यस्ले, अनि लाग्नका लागि पिउँछु । ।
कसै कसै त मलाई पेशेवर सराबी ठान्लान्
म भने आइन्दा मदिरा त्याग्नका लागि पिउँछु । । ।
यी सबै त वाहनाहरुको खेतीमा शब्दहरुको मलजल मात्रै न हुन् । वास्तविकता त के हो भने तिरस्कृत भएपछि साहाराको खोजीमा भौतारिन्छ मान्छे । कहिले कसैबाट उक्सिएर अनि कहिले आफै—आफै जोशिएर पिउन शुरु गर्छ । भन्छन् सपना भत्किएपछि भट्टि रमाईलो लाग्न थाल्छ । सायद होला पनि...किनकी मन विथोलिएको बेला यथार्थ भन्दा निक्कै पर पुगेर हराउने चाहना हुन्छ मान्छेलाई । त्यति पर की जहाँ आफुसँग केही आलो यादहरु भन्दा अरु केही नहोउन् । भत्किएका सपनाहरुका केही अवशेष होउन् अनि मक्किएका कल्पनाहरुका केही जिजिविषाहरु भेटिउन् । केही पिडा मिश्रित विगतहरु अनि केही आँशु लुकेका वर्तमानहरु.....यी दुबैको घोलले जीन्दगी सँधै एकनासको कक्टेल बन्दोरहेछ । पिउनु पनि मज्जा, मात्तिनुमा पनि मज्जा ।